दफा ३०
गभर्नरको काम, कर्तव्य र अधिकार
(१) गभर्नरको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क)समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने । (ख)बैंकको सञ्चालन तथा व्यवस्थापन गर्ने । (ग)बैंकले गर्नु पर्ने कार्यहरु व्यवस्थित गर्ने । (घ)अन्तर्राष्ट्रिय संघ, संस्थामा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने, गराउने । (ङ)मौद्रिक तथा विदेशी विनिमय सम्बन्धी नीति कार्यान्वयन गर्ने, गराउने । (च)वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको ब्याजदर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने । (छ)वाणिज्य बैंक तथा वित्तीय संस्थाले कर्जा वा निक्षेपमा लिने वा दिने ब्याजदर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने । (ज)वाणिज्य बैंक तथा वित्तीय संस्थाले कायम गर्नु पर्ने तरलता सम्बन्धी नीति निर्माण गर्ने । (झ)वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले राख्नुपर्ने अनिवार्य मौज्दातको आधार, रकम, तरीका, शर्त, समयावधि तथा सो को प्रयोगका बारे आवश्यक व्यवस्था गर्ने । (ञ)वाणिज्य बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको पर्याप्तता सम्बन्धी शर्त निर्धारण गर्ने । (ट)सुन तथा अन्य बहुमूल्य धातुको खरीद बिक्री गर्दा अपनाउनु पर्ने प्रकृया र शर्तको सम्बन्धमा निर्णय गर्ने । (ठ)बैंकले प्रदान गर्ने सेवामा सेवा शुल्क निर्धारण गर्ने । (ड)आवश्यकता अनुरुप बैंकका शाखा कार्यालय तथा अन्य कार्यालय स्थापना र बन्द गर्ने निर्णय गर्ने । (ढ)बैंकको एजेन्सी स्थापना गर्ने र बन्द गर्ने । (ण)बैंकको सूचना प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक व्यवस्था गर्ने । (त)वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षण सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने । (थ)वाणिज्य बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको इजाजतपत्र रद्द गर्ने सम्बन्धमा निर्णय गर्ने । (द)सञ्चालक समितिद्वारा प्रत्यायोजित अधिकारको अधीनमा रही अन्य विषयमा निर्णय गर्ने । (२) अन्तर्राष्ट्रिय मान्यता अनुरुप केन्द्रीय बैंकका गभर्नरले प्रयोग गर्नुपर्ने अधिकार गभर्नरमा अन्तर्निहित हुनेछ ।